Home » एक महिने छ्याँडु प्रशिक्षण सम्पन्न

एक महिने छ्याँडु प्रशिक्षण सम्पन्न

by Pokhara City

पोखरा, २८ असोज

तमु साँस्कृतिक प्रतिष्ठान नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगीमा एक महिने छ्याँडु प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। तमु समुदायको लोपोन्मुख नृत्य छ्याँडुको संरक्षण गर्न साथै प्रशिक्षकहरु उत्पादन गर्ने उदेश्यले सञ्चालित एक महिने प्रशिक्षण सम्पन्न भएको हो।

गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रतिनीधि सभा सदस्य मनबहादुर गुरुङले सस्कृतिहरुको मौलिकता जोगाउनुपर्ने बताउनुभयो। अहिले सँस्कार, सँस्कृतिलाई आधुनिक र सजिलो बनाउने नाममा मौलिकता, मुल पहिचान गुम्दै गएकाले सजग हुनुपर्नेमा जोड दिनुभयो। खेगी गुरुहरुले आफुले प्राप्त गरेको ज्ञानलाई लुकाएर राख्ने, अरुलाई हस्तान्तरण गर्न समेत नखोज्ने प्रवृतिले समस्याहरु आएको भन्दै एक महिनामा सिकेका ज्ञान प्रशिक्षार्थीहरुले आआफ्नो समाजमा विस्तार गर्नुपर्ने बताउनुभयो। विविधताको मुलुक नेपालमा हामीले तमुहरुले अपनाउदै आएको चाडपर्व, सँस्कृतिहरुका बारेमा पनि हाम्रो हो होइन, शब्दमा समेत विवाद गरेर बसिरहन नहुने बताउनुभयो।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, वरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङ, छ्याँडु प्रशिक्षक भिमबहादुर गुरुङ, प्रशिक्षार्थी हेमबहादुर गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा प्रशिक्षार्थीहरुले प्रशिक्षणका अवधिमा सिकेको छ्याँडु प्रस्तुत गरिएको थियो भने उक्त कार्यक्रममा प्रशिक्षार्थीहरु र प्रशिक्षणमा सहभागीता गराउने समाजहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो। यसै विच प्रतिष्ठानका सल्लाहकार हुमबहादुर गुरुङ पुन: तमु धिं नेपालको अध्यक्षमा निर्वाचित हुनुभएको भन्दै बधाई ज्ञापन गरिएको थियो।

तमु प्ये ल्हु संघमा संचालित एक महिने तालिममा प्रशिक्षकहरु भिमबहादुर गुरुङ, दानबहादुर गुरुङ, कुलप्रसाद गुरुङले विभिन्न समाजका तीस भन्दा वढी प्रशिक्षार्थीहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो।

तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष श्रीजंग गुरुङले स्वागत र सचिव कञ्चन गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

You may also like