पोखरा, २३ पुस/ गण्डकी प्रदेश ह्याण्डबल संघ तदर्थ समितिको अध्यक्षमा केशव पाठक सर्वसम्मत चयन भएका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा पाठकसहित १५ सदस्यि कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा गिरमान गुरुङ, महिला उपाध्यक्षमा शान्ती थापा बैद्य, महासचिवमा राजेन्द्र पहाडी, सचिवमा विशाल क्षेत्री, कोषाध्यक्षमा बिना गोतामे चयन भएका छन् ।
त्यसै गरी कार्यसमिति सदस्यमा प्रदिप बगाले (स्याङजा), पार्वती विक (नवलपुर), अधिप पाण्डे (तनहुँ), मोहन गुरुङ (कास्की), तिलक बहादुर अधिकारी (कास्की), कृष्ण सिंह बस्नेत (गोरखा) र कल्याण भण्डारी (बागलुङ) चयन भएका छन् ।
यस अघि भेलालाई सम्वोधन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले खेलकुदको विकासका लागि परिषदले विभिन्न योजनाहरु अघि सारेको जनाउँदै १० औं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न आग्रह गरे । उनले खेल संघहरुलाई सुशासनतर्फ अघि बढाउने प्रयासमा परिषद रहेको जनाउँदै नवगठित समितिले ह्याण्डबल खेलाडीको उत्पादन र विकासको गतिलाई समेत संगै–संगै अघि बढाउनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।
सो अवसरमा परिषदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ, ऋषीराम गौतम, पूर्व राष्ट्रिय ह्याण्डबल खेलाडी देवेन्द्र कुमार शेरचनले शुभकामना तथा बधाई दिंदै नवगठित कार्यसमितिले ह्याण्डबल खेलको विकासमा आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्न र दर्शौको तयारीका लागि योजनावद्धरुपमा कार्य गर्न आग्रह गरे ।
प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार गठन भएको प्रदेश ह्याण्डबल संघलाई गति दिने गरी योजनाहरु निर्माण गर्ने प्रतिवद्धता नवगठित समितिका अध्यक्षले प्रतिवद्धता व्यक्त गरेका छन् । यसै गरी सम्पन्न भेलाले केन्द्रिय प्रतिनिधीको रुपमा पूर्व राष्ट्रिय ह्याण्डबल खेलाडी शेरचनलाई चयन गरेको छ भने गण्डकी प्रदेशको प्रशिक्षकको जिम्मेवारी ह्याण्डबल प्रशिक्षक राम बहादुर क्षेत्रीलाई दिने निर्णय समेत गरेको छ ।