Home » रेवान पोखराद्धारा आयोजित पाँच दिने एडभान्स वेकरी तालिम सम्पन्न

रेवान पोखराद्धारा आयोजित पाँच दिने एडभान्स वेकरी तालिम सम्पन्न

by Pokhara City

पोखरा ६, साउन
रेष्टुरेण्ट एण्ड बार एशोसियशन पोखराको आयोजनामा संचालित पाँच दिने एडभान्स वेकरी तालिम सम्पन्न भएको छ ।
 पम नेदरल्याण्डको समन्वय एवम् नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडाको सहकार्यमा रेवानमा आवद्ध रेष्टुरेण्टहरुमा कार्यरत कुकहरुलाई उक्त तालिम प्रदान गरिएको हो । समापन समारोहमा कलेजका अध्यक्ष एवम अग्रज पर्यटन व्यवसायी अशोक पालिखेले पर्यटकीय राजधानी पोखरामा आउने पर्यटकलाई गुणस्तरीय स्वाद र आतिथ्यताका लागि दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए । उनले जति धेरै तालिम दिन सकियो उत्तिनै दक्ष जनशक्ति उत्पादन हुने र त्यसको फाइदा पोखराको पर्यटनले लिन सक्ने बताए । उनले पाँच दशक अगाडि पाउरोटीको स्वाद आफुले लिएको स्मरण गर्दै अहिले अन्तराष्ट्रिय स्तरका वेकरीलाई सहजै उत्पादन गरेर पाहुना माझ पुर्याउन अवसरहरु मिलेको बबताउँदै तालिमको महत्वमा जोड दिए ।


तालिममा सहभागी तारा श्रेष्ठ आफ्नो अनुभव राख्दै तालिमले आफुहरुको क्षमतामा  निखारसँगै गुणस्तरीय वेकरी आइटम बनाउने नयाँ तरिका बारे जानकारी लिन सफल भएको बताए । तालिमले आउने दिनमा  व्यवसायिकरूपमा अघि बढ्न थप सहयोग पुग्ने उनको भनाइ थियो ।
 अर्का सहभागी सृजना अधिकारीले तालिमका व्यावहारिक पक्ष र प्राविधिक ज्ञानले आफूलाई बेकरी उत्पादनमा आत्मविश्वास बढाएको धारणा राखिन् ।
नेदरल्याण्डका वेकरी प्रशिक्षक सोड जलेमाले नेपाल आएर आफ्नो ज्ञान बाड्न पाएकोमा खुशी व्यक्त गरे । उनले बेकरी तालिमका सहभागीको सक्रियताले आफुलाई सिकाउन आनन्द लागेको बताउँदै यस प्रकारको तालिमले स्थानीय व्यवसायलाई मात्र नभइ समग्र पर्यटन क्षेत्रले नै लाभ लिन सक्ने बताए ।

तालिमका संयोजक वसन्त गौतमले लेकसाइडका रेष्टुरेण्डको सेवालाई गुणस्तरीय बनाउन हाइजनिक र स्वादिलो बेकरी उत्पादनको आवश्यकतालाइ ध्यान दिदै तालिम प्रदान गरिएको जानकारी दिए । उनले तालिमको उद्देश्य अन्तर्राष्ट्रिय स्तरको ज्ञान र प्रविधि प्रदान गरेर गुणस्तरीय व्यवसायमा जोड दिनुका साथै दक्ष जनशक्ति उत्पादन गर्ने रहेको बताए ।
 
नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै व्यवसायिकतामा जोड दिनुपर्ने बताइन । उनले हरेक क्षेत्रमा दक्ष जनशक्ति खाँचो औल्याउँदै बेकरी सम्बन्धि एडभान्स तालिमले स्थानीय व्यवसायको प्रोत्साहन र रोजगारीको सिर्जना हुने विश्वास व्यक्त गरिन् ।

समापन समारोहका सभाध्यक्ष एवम रेवानका नि. अध्यक्ष लक्ष्मण बरालले रेवानले गुणस्तरीय वेकरी उत्पादनका लागि निरन्तर दक्ष जनशक्ति जोड दिएर विभिन्न तालिमहरु प्रदान गर्दै आएको बताए । उनले अहिले पनि लेकसाइडका रेष्टुरेण्टहरुमा गुणस्तरीय वेकरी उत्पादनका लागि  दक्ष जनशक्तिको अभाव भइरहेको जनाउँदै यस तालिमले त्यो आवश्यकता पूर्ति गर्न थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  रेवानका महासचिव विकास भटराईले पोखराको पर्यटन प्रवद्र्धनमा रेवान लामो समयदेखि सक्रिय रहेको जनाउँदै यस्ता तालिम निरन्तर गर्ने बताए । उनका अनुसार तालिममा १९ जनाका सहभागिता रहेको छ ।

You may also like