Home » ह्योल्मो भाषा तथा लिपि प्रशिक्षण तालिम समापन

ह्योल्मो भाषा तथा लिपि प्रशिक्षण तालिम समापन

by Pokhara City

पोखरा
नेपाल ह्योल्मो समाज सेवा समिति पोखराको आयोजनामा एक महिने ह्योल्मो भाषा तथा लिपि प्रशिक्षण तालिम समापन भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिममा ह्योल्मो भाषा तथा लिपिका बारेमा प्रशिक्षण प्रदान नगरिएको थियो ।

कास्की जिल्लाका विभिन्न भागमा बसोबास गर्ने ३० जना ह्योल्मो समुदायका प्रशिक्षार्थी सहभागी तालिमको उद्योग तथा पर्यटन मन्त्रालय गण्डकीका सचिव कुमानसिंह गुरुङले समापन गर्नुभएको हो । उक्त अवसरमा उहाँले नेपालमा प्रचलित विविध भाषा, कला, संस्कृति र परम्परा सम्पूर्ण नेपालीहरूको अमूल्य साझा सम्पत्ति भएको उल्लेख गर्नुभयो । यसको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको सचिव गुरुङले बताउनुभयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेश गीतसङ्गीत, भाषा र संस्कृतिमा समृद्ध रहेको जनाउँदै यसको जगेर्नाका लागि प्रतिष्ठानले विभिन्न तालिम तथा प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो । प्रशिक्षणमा सहभागी अरुणा ह्योल्मोले भाषा प्रशिक्षण कार्यक्रम आफू र आफ्नो समुदायका लागि अत्यन्त प्रभावकारी र उपलब्धिमूलक भएको बताउनुभयो ।

नेपाल ह्योल्मो समाज सेवा समितिका अध्यक्ष क्याप्टेन पूर्ण बहादुर ह्योल्मोले आफ्नो समुदायका लागि भाषा कक्षा आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय ह्योल्मो भाषा पनि समुदाय भित्र मात्र सीमित हुँदै गएको भन्दै यसलाई साझा भाषाका रूपमा विकास गर्न राज्यका निकायहरूले समेत आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष सुबेदार तेजबहादुर ह्योल्मो र सचिव पूर्ण लामा ह्योल्मोले पनि ह्योल्मो भाषा तथा लिपिका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

You may also like