१७ पोखरा
ठूलाडिही–पोखरा सम्पर्क मञ्चले तनाव न्यूनीकरण प्रशिक्षण सञ्चालन गरेको छ ।
संस्थाले दोस्रो वार्षिक साधारण सभाको अवसर पारेर तनाव न्यूनीकरणमा साहित्य, संगीत, सन्तुलित भोजन एवं योगको महत्वबारे प्रशिक्षण सञ्चालन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि मञ्चका ज्येष्ठ सदस्य नरबहादुर रेग्मीले वर्तमानमा यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए ।
कार्यक्रममा साहित्य एवं संगीतका माध्यमबाट तनाव व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा संस्थाका अध्यक्ष दुर्गाबहादुर शाह “बाबा” ले सहजीकरण गरेका थिए ।
उनले पछिल्लो समय हरेक व्यक्ति विविध तनावमा रुमलिएको अवस्थामा साहित्य र संगीत तनाव न्यूनीकरणको अचूक उपचार भएको बताए ।
योगासन, प्रणायम र सन्तुलित भोजनका सन्दर्भमा संस्थाका कोषाध्यक्ष झम्कनाथ पोख्रेलले सहजीकरण गरे । उनले मान्छे भोजन अभावले भन्दा ग्रहण ज्ञान अभावले समस्यामा परेको धारणा राखे ।
संस्थाका सचिव हरि नेपालले योग एवं ध्यानको प्रयोगात्मक प्रशिक्षण गराउँदै तनाव न्यूनीकरणको महत्वपूर्ण उपचार भनेकै योग र ध्यान भएको विचार राखे ।
संस्थाका सल्लाहकार वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगर, संस्थाका उपाध्यक्ष वीरेन्द्र भाट, आजीवन सदस्य एकबहादुर भूजेलले मञ्चका यस्ता कार्यक्रम निकै प्रभावकारी हुने धारणा राखे ।
सभाले कोषाध्यक्ष झंकनाथ पोखरेलको आर्थिक र सचिव हरि नेपालको प्रगति प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।
