Home » पोखरामा ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिता शुरु, उद्घाटन खेलमा न्यूरोड हबको बिजयी शुरुवात

पोखरामा ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिता शुरु, उद्घाटन खेलमा न्यूरोड हबको बिजयी शुरुवात

by Pokhara City

सन्देश श्रेष्ठ

पोखरा, चैत १३

पोखरामा बुधबारदेखि शुरु भएको ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगितामा न्यूरोड हबले बिजयी शुरुवात गरेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा न्यूरोड हबले लेखनाथ ईगल्सलाई ७ विकेटले हराएको हो ।

लेखनाथस्थित इडेन हेभेन क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ ईगल्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाएको थियो । लेखनाथ ईगल्सका लागि मार्सल बरालले २१ ब्लमा १९ रन र प्रदीप तामाङले १८ बलमा १७ रनको योगदान दिए । लेखनाथ ईगल्सलाई सस्तैमा समेट्न न्यूरोड हबका प्रमोद बास्तोलाले ४ ओभर बलिङ गर्दै १८ रन खर्चेर ३ विकेट लिए ।

११९ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको न्यूरोड हबले १४.३ ओभरमा केवल ३ विकेट गुमाएर लक्ष्य पूरा गर्दै जित हासिल गरेको हो । न्यूरोड हबका लागि धिरज अधिकारीले २६ बलमा ३७ रन र कविन सापकोटाले ३१ बलमा २१ रनको योगदान दिए । लेखनाथ ईगल्सका सुवास बास्कोलाले ३ ओभर बलिङ गर्दै १९ रन खर्चेर २ विकेट लिएपनि हार टार्न सकेनन् ।

उद्घाटन खेलको प्लेयर अफ दी म्याच बिजेता टिम न्युरोड हबका प्रमोद बास्तोला घोषित भए ।

यसअघि प्रतियोगिताको पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले उद्घाटन गरेका थिए ।

प्रतियोगिता अन्तर्गत विहीबार दोस्रो दिन लेखनाथ ईगल्स र लेकसाईड फाल्कोन आमनेसामने हुनेछन् ।

चैत १५ गतेसम्म जारी रहने प्रतियोगितामा ३ टिम सहभागी छन् । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा गत फागुन अन्तिम साता भएको अन्तर क्लव टि–२० क्रिकेट प्रतियोगिताबाट छनौट भएका ३६ जना खेलाडीलाई ३ वटा समूहमा विभाजित गरेर प्रतियोगिता खेलाईएको अध्यक्ष पुनले बताए ।

खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न नियमित प्रतियोगिता आयोजना गरिएको उनले बताए । उनका अनुसार निकट भविष्यमा देशका विभिन्न महानगरपालिकाहरुसँग आपसी सद्भाव साट्ने, महानगर–महानगरबीच भाइचारा सम्बन्ध स्थापित गर्ने र खेल पर्यटन प्रवद्र्धन गर्ने आफूहरुको उद्देश्य छ ।

प्रतियोगिताको बिजेता र प्रत्येक दिनको प्लेयर अफ दी म्याचलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।

You may also like