भूपू सैनिक क्लबको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम

पोखरा, १ बैशाख

पोखरा महानगरपालिका वडा नं.१, बगर, पुरानो टुँडिखेलस्थित भूपू सैनिक क्लवले आइतवार भेटघाट तथा नयाँवर्ष २०७६ को शुभकामना आदान प्रदान सम्पन्न गरेको छ। क्लवका संस्थापक अधयक्ष क्या.लालप्रसाद गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

दीप प्रज्वलन गर्दै भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमको उद्घाटन गर्नुहुदै क्या.गुरुङले भुपूहरुको एकता र समाज विकासका लागि क्लव स्थापना गरेको बताउनुभयो। भूपू सैनिक क्लवको स्थापनाको ऐतिहासिकता चर्चा गर्नुहुदै भूपू सैनिकको अनुभवलाई राज्यले उचित सम्मान गर्नुपर्ने बताउनुभयो। क्लवको विकास लागि सबैको साथ हुनुपर्नेमा टुडिखेलको विकासको नाउमा विगतमा भएका सहमति विर्सन नहुने बताउनुहुदै जबसम्म संस्था रहन्छ, तबसम्म कसैले जग्गा भोगचलनका लागि क्लवले अधिकार पाएको बताउनुभयो।

काँग्रेस नेता शुक्रराज शर्माले शुभकामना व्यक्त गर्नुहुदै भूपू सैनिक र आफ्नो गहिरो सम्बन्ध रहेको बताउनुभयो। उसो त काँग्रेस स्वभावैले भूपूलाई माया पार्टी भएको बताउनुहुदै भूपू सैनिक संघको लालपुर्जा भएको अमरसिंहको २० रोपनी जग्गा भूपूले नै भोग चलन गर्न पाउनुपर्नेमा जोड दिनुभयो। लालपुर्जा भएको जग्गामा बस्न नपाउने भए मालपोत कार्यालय किन चाहियो भनेर प्रश्न समेत गर्नुभयो। इमान्दार भूपू जति विदेश पोखरा कसरी बन्छ भन्ने जिज्ञासा राख्नुहुदै सबै एक भएर लोकतन्त्र र समृद्धिका लागि अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

तमु धिं नेपालका उपाध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नु हुदै राज्यले भूपू सैनिकको अनुभव र योगदानलाई राज्यले कहिल्यै पनि सम्मान नगरेको बताउनुभयो।प्रकृति र सँस्कृतिकले समृद्ध मुलुक नेपाललाई अहिलेसम्मका शासकहरु राणा, पञ्चे, काँग्रेस र कम्युनिष्टले मागी खाने मुलुक बनाएको आरोप लगाउनुहुदै नयाँबर्षले नेताहरुमा नेपाल निर्माणको सद्बुद्धि पलाए भूपूहरुले श्रम सीप र आर्थिक समेतका सहयोग गर्ने दावी गर्नुभयो। उहाँले राजनीतिक संरक्षणकै कारण नेपाल भूपू सैनिक संघको लालपुर्जा भएको जग्गामा सुकुम्बासीको नाउमा बस्ती बसेको बताउनुहुदै नेताहरु र भूपू सैनिकहरु जग्गाको समस्या समाधानका लागि क्रियाशील रहे तमु धिं नेपाल सधै न्यायको पक्षमा साथ रहने बताउनुभयो।

नेपाल भुपू सैनिक संघ कास्कीका अध्यक्ष अ.सु.मे.हेमप्रसाद गुरुङले शुभकामना व्यक्त गर्नुहुदै जनतालाई नेताले भड्काएर भूपू सैनिकको जग्गा ओगटेको आरोप लगाउनुभयो। अमरसिंहमा रहेको भूपूको जग्गामा गोर्खा टावर, म्युजियम, उच्चस्तरीय गेष्ट हाउस, तालिम केन्द्र, बाल उद्यानदेखि व्यपारिक केन्द्र रहेको पोखराले गौरब र भूपूको पहिचान झल्कने निर्माण गर्ने डिपिआर बनेको बताउनुभयो। २०४० सालदेखि आफुहरुले मालपोत तिर्दै आएको तर भोग चलन गर्न राजनीतिक अवरोध गरिएकोमा दुख व्यक्त गर्नुभयो। सरकारले समृद्धि भन्छ, गोर्खा भर्ति र बैदेशिक रोजगारीको विकल्पको कुरा गर्छ तर नेपालमा रोजगारीको अवसर खोइ भन्दै प्रश्न गर्नुभयो।

नेपाली काँग्रेस वडा नंं. १ का सभापति टंकनाथ पौडेलले शुभकामना व्यक्त गर्नुहुदै भूपू सैनिकको योगदान नेपाल सरकारले चिन्न नसकेको बताउनुभयो। सरकारले सबै पार्टी, संघ संस्था, समुदायलाइ समेटेर अघि बढ्न नसकेको आरोप लगाउनुभयो।

वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक दिपक थापामगरले शुभकामना व्यक्त गर्नुहुदै भूपूहरुलाई जाडरक्सी, जुवा तासमा नभुल्न आग्रह गर्नुहुदै आफ्ना बालबच्चालाई असल मार्ग निर्देश गर्न अनुरोध गर्नुभयो। आफ्ना बालबच्चाले जे माग गरे पनि पुरा गरिदिने तर कुन बाटो, कस्तो संगत गरेको छ, कुन गतिविधीमा संलग्न छ भन्ने पनि अभिभावकले हेर्नुपर्ने उहाँको भनाई थियो।

नागरिक समाजका चन्द्रबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुृहुदै टुडिखेल संरक्षणका नाउमा भूपू सैनिक क्लवमा प्रवेशका लागि समस्या हुन सक्ने भएकाले भूपूहरुलाई सजग गराउनुभयो। उहाँले भूपू परिवारका लागि मृत्यु पश्चातका कागजपत्र बनाउन निकै दुःख रहेको बताउनुहुदै सम्वन्धित निकायले भूपूको समस्या सुनुवाई गर्नुपर्ने बताउनुभयो।

भूपू सैनिक क्लवका अध्यक्ष ना.सु. गंगाबहादुर गुरुङको अध्यक्षा एवं स्वागत र सचिव आशकुमार गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

उक्त अवसरमा चियापान कार्यक्रमको समेत आयोजना गरिएको थियो भने कार्यक्रम सहभागीहरु एकापसमा नयाँवर्षको शुभकामना आदान प्रदान गरेका थिए।

Related Post

JOIN THE DISCUSSION